‏ Psalms 42

दोस्रो खण्ड

भजनसंग्रह 42–72

सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूका मस्किल।
शीर्षक: सम्भवतः एक साहित्यिक वा साङ्गीतिक शब्द।

1जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ,
त्यसरी नै हे मेरा परमेश्‍वर, म तपाईंको तिर्सना गर्दछु।
2मेरो प्राण परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति तिर्खाउँछ।
म कहिले जाऊँ र परमेश्‍वरलाई भेटूँ?
3मेरो आँसु दिनरात
मेरो भोजन बनेको छ,
मानिसहरू निरन्तर मलाई भनिरहन्छन्,
“खोइ त तेरो परमेश्‍वर?”
4मेरो हृदयका कुराहरू पोखाउँदा,
यी कुराहरू म सम्झन्छु:
कसरी ती उत्सव मनाउने जन समूहहरूसँग
जयजयकार र धन्यवादसाथ,
महान् परमेश्‍वरको सुरक्षामा म अगुवा भएर
तिनीहरूलाई परमेश्‍वरको भवनतर्फ लाने गर्थेँ।

5हे मेरो प्राण, तँ किन उदास हुन्छस्?
मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्?
परमेश्‍वरमा आशा राख्,
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर,
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।

6मेरो प्राण मभित्र उदास भएको छ;
यसकारण म यर्दनको देशबाट
हेर्मोन पर्वत—मिसारको डाँडाबाट
तपाईंलाई सम्झनेछु।
7तपाईंको छाँगाहरूका गर्जनमा,
सागरले सागरलाई पुकार्दछ;
तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले
मलाई छोपेका छन्।

8याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ,
राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ,
जुनचाहिँ मेरो जीवनको परमेश्‍वरलाई प्रार्थना हो।

9परमेश्‍वर मेरा चट्टानलाई म भन्छु,
“तपाईंले मलाई किन बिर्सनुभएको?
शत्रुको थिचोमिचोले गर्दा
म किन शोक गरेर हिँडिरहनुपर्ने?”
10मेरा हाडहरूमा गहिरो चोट पर्छ,
जब मेरा वैरीहरूले
मलाई गिल्‍ला गर्दै दिनभरि भन्छन्,
“खोइ त तेरो परमेश्‍वर?”

11हे मेरो प्राण, तँ किन उदास हुन्छस्?
हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्?
परमेश्‍वरमा आशा राख्,
हे मेरा मुक्तिदाता, हे मेरा परमेश्‍वर,
म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
Copyright information for NpiNCV