Psalms 59
सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” को रागमा आधारित, दावीदको मिक्ताम, जब शाऊलले दावीदलाई मार्न भनी उनका घरमा सुराकी गर्न पठाएका थिए।
1हे परमेश्वर, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्;मलाई आक्रमण गर्नेहरूबाट रक्षा गर्नुहोस्।
2दुष्ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्,
र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्।
3हेर्नुहोस्, मेरो प्राण लिनलाई तिनीहरू कसरी ढुकेर बसेका छन्!
हे याहवेह, मेरो दोष वा पाप नभए तापनि
कारणविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र रच्दछन्।
4मेरो कुनै दोषविना नै तिनीहरू मलाई आक्रमण गर्न तयार छन्।
मलाई सहायता गर्न उठ्नुहोस्; मेरो दुर्गतिमा दृष्टि गर्नुहोस्।
5हे याहवेह, सेनाहरूका परमेश्वर,
हे इस्राएलका परमेश्वर,
सबै राष्ट्रहरूलाई दण्ड दिन तपाईं जाग्नुहोस्;
विश्वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्। सेला
6तिनीहरू साँझपख
कुकुरहरूजस्तै घुर्दै,
सहरको चारैतिर आउँछन्।
7हेर्नुहोस्, तिनीहरूको मुखबाट के निकाल्छन्—
तिनीहरूका ओठबाट निक्लेका शब्दहरू तरवारजस्तै धारिला छन्;
अनि तिनीहरू सोच्दछन्, “हामीलाई कसले सुन्न सक्छ र?”
8तर हे याहवेह, तपाईं तिनीहरूमाथि हाँस्नुहुन्छ;
तपाईं सबै राष्ट्रहरूको उपहास गर्नुहुन्छ।
9तपाईं मेरो शक्ति हुनुहुन्छ, म तपाईंको प्रतीक्षा गर्दछु;
हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
10मेरो परमेश्वरको अचुक प्रेममा, उहाँ मसँग खडा हुनुहुनेछ,
र परमेश्वर मेरो अगाडि जानुहुनेछ।
उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय देख्न दिनुहुनेछ।
11तर हे प्रभु, हाम्रा ढाल, ▼
▼अथवा सार्वभौम
तिनीहरूलाई नमार्नुहोस्,नत्रता मेरा मानिसहरूले भुल्नेछन्।
तपाईंको शक्तिले तिनीहरूलाई उखेल्नुहोस्
र तिनीहरूलाई होच्याउनुहोस्।
12तिनीहरूका मुखको पापको फल,
तिनीहरूका ओठका शब्दहरूका कारण,
तिनीहरू आफ्नै घमण्डमा फसून्।
तिनीहरूले बोलेका श्राप र झूटका कारण,
13तपाईंको क्रोधमा तिनीहरूलाई भस्म पार्नुहोस्,
तिनीहरू पूरै नष्ट नहोउन्जेल भस्म गर्नुहोस्।
तब पृथ्वीको छेउसम्मै मानिसहरूले जान्नेछन्,
कि परमेश्वरले इस्राएलमाथि ▼
▼मूल भाषामा याकोबमाथि
र संसारभरि राज्य गर्नुहुन्छ।14तिनीहरू साँझपख
कुकुरहरूजस्तै घुर्दै
सहरको चारैतिर आउँछन्।
15तिनीहरू आहाराको खोजीमा भौँतारिन्छन्,
अनि तिनीहरू आहाराले सन्तुष्ट नहुँदा कराउँछन्।
16तर म तपाईंको शक्तिको गुणगान गाउनेछु,
बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु;
किनकि तपाईं मेरा किल्ला हुनुहुन्छ,
सङ्कष्टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।
17तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु;
हे परमेश्वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ,
मेरो प्रेमिला परमेश्वरमा म भरोसा गर्न सक्छु।
Copyright information for
NpiNCV