‏ Revelation of John 8

सातौँ मोहर र सुनको धुपौरो

1जब थुमाले सातौँ मोहर खोल्नुभयो, तब स्वर्गमा प्रायः आधा घण्टासम्म सन्‍नाटा छायो।

2अनि मैले परमेश्‍वरको सामु सात जना स्वर्गदूतहरूलाई उभिएको देखेँ; अनि तिनीहरूलाई सात वटा तुरहीहरू दिइयो।

3अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो। 4स्वर्गदूतको हातबाट धूपको धुवाँ सन्तहरूका प्रार्थनासँगसँगै उँभो उठ्दै परमेश्‍वरको उपस्थितिमा गयो। 5तब ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे, र त्यसलाई पृथ्वीमाथि फ्याँकिदिए; अनि मेघ गर्जन, गड्याङ-गुडुङको आवाज, बिजुलीको चमक उत्पन्‍न भयो, र भुइँचालो गयो।

तुरहीहरू

6तब सात वटा तुरहीहरू भएका ती सात स्वर्गदूतहरू तुरही फुक्न तयार भए।

7जब पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, तब त्यहाँ रगतमा मिसिएका असिना र आगो उत्पन्‍न भए, र पृथ्वीमाथि वर्षिए। पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू जलेर भस्म भयो।

8जब दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब बल्दैगरेको एउटा ठूलो पहाडजस्तै कुनै वस्तु समुद्रमा फालियो; अनि समुद्रको एक तिहाइ भाग रगतमा परिणत भयो। 9समुद्रमा भएका जीवित प्राणीहरूको एक तिहाइ भाग मरे; अनि जहाजहरूको एक तिहाइ भाग नष्‍ट भयो।

10जब तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब राँकोझैँ जलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूको एक तिहाइ भागमाथि र पानीका मुहानहरूमाथि खस्यो; 11त्यस ताराको नाम तितो
तितो मूल भाषामा अप्सिन्थोस
हो। पानीको तेस्रो भाग तितो भयो, र तितो पानीका कारण धेरै मानिसहरू मरे।

12जब चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, तब सूर्यको एक तिहाइ भागमाथि र चन्द्रमाको एक तिहाइ भागमाथि अनि ताराहरूको एक तिहाइ भागमाथि प्रहार भयो; जसद्वारा तिनीहरूको एक तिहाइ भाग अँध्यारो भयो। दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भाग पनि ज्योतिविहीन भयो।

13जसरी मैले ध्यानसित हेरिरहेको थिएँ, आकाशको बीचमा उडिरहेको एउटा गरुडले चर्को सोरमा यसो भनिरहेको सुनेँ: “अरू तीन स्वर्गदूतहरूले फुक्न लागेका तुरहीका आवाजहरूको कारण पृथ्वीवासीहरूलाई आतङ्क! आतङ्क! आतङ्क!”

Copyright information for NpiNCV