‏ Song of Solomon 7

1हे राजकुमारकी छोरी,
चप्पल लगाइएका तिम्रा पाउ कत्ति सुन्दर छन्!
तिम्रा तिघ्राहरूका आकार
शिल्पकारका हातले बनाइएका रत्नजस्तै छन्।
2तिम्रो नाभी गोलो प्यालाजस्तै छ,
जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन।
तिम्रो कम्मर लिली फूलले घेरेको
गहुँको थुप्रोजस्तै छ।
3तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्,
मृगीका दुई पाठाजस्तै।
4तिम्रो गला हस्तीदन्तको धरहराजस्तै छ।
तिम्रा आँखा बाथ-रब्बीमको छेउको
हेश्बोनका पोखरीजस्तै छन्,
तिम्रो नाक दमस्कसतिर हेरिराखेको
लेबनानको धरहराजस्तै छ।
5तिम्रो शिर कर्मेल पर्वतजस्तै मुकुट पहिरिएको देखिन्छ।
तिम्रो कपाल हातले बुनेका राजकीय वस्त्रसमान छ;
त्यसका चुल्ठाले राजालाई मोहित पारेको छ।
6हे प्रिय, आनन्दले पूर्ण,
र मनलाई खुशी पार्ने तिमी बिछट्टै राम्री छ्यौ!
7तिम्रो शारीरिक कद खजूरको रूखझैँ छ,
र तिम्रा स्तनहरू फलका झुप्पाहरूजस्ता छन्।
8मैले भनेँ, “म खजूरको रूखमा चढ्नेछु;
म त्यसका फल समात्नेछु।”
तिम्रा स्तनहरू अङ्‌गुरका झुप्पाहरूजस्तै होऊन्,
तिम्रो सासको बास्‍ना स्याउका बास्‍नाझैँ,
9र तिम्रो मुख उत्तम दाखमद्यझैँ मगमगाऊन्।
प्रेमिका ओठ र दाँतबाट सलल बग्दै
दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्।
10म मेरा प्रियकी हुँ,
र उहाँले मेरो तिर्सना गर्नुहुन्छ।
11हे मेरा प्रिय, आउनुहोस्! हामी खेतबारीतिर जाऔँ;
गाउँहरूमा
अथवा मेहदीका झ्याङहरू
हामी रात बिताऔँ।
12दाखमा कोपिला लाग्यो कि,
तिनमा फूल फुल्यो कि,
अनारहरूमा फूल फुल्यो कि,
भनेर हेर्न हामी बिहानै दाखबारीमा जाऔँ—
त्यहाँ म तपाईंलाई मेरो प्रेम प्रकट गर्नेछु।
दूधेफलले बास्‍ना दिँदैछ,
मैले तपाईंको निम्ति जम्मा गरेका हरेक स्वादिष्‍ठ,
नयाँ र पुराना फलहरू,
हाम्रा ढोकामा तयार छन्, हे मेरा प्रिय।
13

Copyright information for NpiNCV