Job 42:10-17
10इयोबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरिसकेपछि याहवेहले तिनको सुदिन फेरि फर्काइदिनुभयो, र तिनलाई तिनीसँग पहिला भएका धनसम्पत्तिभन्दा दोबर दिनुभयो। 11त्यसपछि इयोबका सबै दाजुभाइ तथा दिदीबहिनीहरू र तिनलाई पहिलेका चिनजानहरू तिनको घरमा तिनीसँग भेटघाट गर्न आए, र तिनीसँग तिनको घरमा भोज गरे। याहवेहले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिका निम्ति तिनीहरूले तिनीसँग विलाप गरे, र तिनलाई समवेदना र सान्त्वना दिए; अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी ▼▼यो रकमको एक एकाइ हो, जसको तौल र मूल्य कत्ति हो निश्चित छैन।
र एउटा-एउटा सुनको औँठी दिए। 12याहवेहले इयोबको जीवनको पछिल्लो समयलाई पहिलेको भन्दा अझ बढी आशिष् दिनुभयो। तिनीसँग चौध हजार भेडाबाख्रा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाहरू थिए। 13तिनका सात छोरा र तीन छोरी पनि भए। 14तिनले जेठी छोरीको नाम यामीमा, माहिलीको कसीआ र कान्छीको केरेन हप्पूक राखे। 15सम्पूर्ण देशभरि इयोबका छोरीहरूजस्ता सुन्दर स्त्रीहरू अरू कोही पनि थिएनन्; अनि तिनीहरूका पिता इयोबले तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूसरह पैतृक सम्पत्ति दिए। 16त्यसपछि इयोब एक सय चालीस वर्ष बाँचे; तिनले आफ्ना छोराछोरी र तिनीहरूका छोराछोरीहरू गरी चार पुस्तासम्म देखे। 17यसरी इयोब वृद्ध र पूरा वर्ष खाएर मरे।
Copyright information for
NpiNCV