‏ John 7:53

53त्यसपछि सबै जना आ-आफ्ना घरतिर गए।

‏ John 8:1-11

1तर येशू जैतुन डाँडामा जानुभयो।

2भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए। अनि उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो। 3व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अगि उभ्याए, 4र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ परेकी हो। 5व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्‍नुहुन्छ?” 6तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्‍त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए।

येशू निहुरनुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो।
7जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।” 8अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो।

9त्यसपछि यो कुरा सुन्‍नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो। 10तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?”

11त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।”

येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”
यूह 7:53–8:11 केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।

Copyright information for NpiNCV