Numbers 22:21-35
बालामको गधा
21बालाम बिहानै उठे, र आफ्नो गधामा काठी कसे। अनि मोआबका अधिकारीहरूसँग गए। 22तर तिनी गएकोमा याहवेह साह्रै रिसाउनुभयो। अनि तिनको विरोध गर्नलाई याहवेहका दूत बाटोमा उभिए। बालाम आफ्नो गधामाथि थिए। अनि तिनका दुई सेवकहरू तिनीसँगै थिए। 23जब त्यस गधाले याहवेहको दूतलाई तरवार हातमा लिएर बाटोमा उभिरहनुभएको देख्यो; तब त्यो बाटो छोडेर खेततिर लाग्यो। तर गधालाई बाटोमा ल्याउनलाई बालामले त्यसलाई पिटे। 24तब याहवेहका दुई स्वर्गदूत दाखबारीको बीचमा एउटा साँघुरो बाटोको दुवैतिरको पर्खालमा उभिए। 25जब गधाले याहवेहको स्वर्गदूतलाई देख्यो, तब त्यो बालामको खुट्टा चेप्टाउँदै पर्खालमा ढेस्सियो। यसकारण तिनले गधालाई फेरि पिट्न थाले। 26तब याहवेहको दूत अगि सरे, र दाहिने अथवा देब्रेतिर घुम्ने ठाउँ नै नभएको साँघुरो ठाउँमा उभिए। 27जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले। 28तब याहवेहले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंको के बिगारेको छु, र तपाईंले मलाई यसरी तीन पल्ट चुट्नुभयो?” 29बालामले गधालाई जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! यदि मेरो हातमा तरवार मात्र भएको भए म तँलाई अहिले नै काट्नेथिएँ।” 30तब गधाले बालामलाई भन्यो, “के तपाईंले आजसम्म चढ्नुभएको तपाईंको आफ्नो गधा म नै होइनँ र? के मैले कहिल्यै तपाईंसँग यस्तो व्यवहार गरेको थिएँ र?” बालामले त्यसलाई भने, “अहँ, गरेको थिइनस्।” 31तब याहवेहले बालामका आँखा खोलिदिनुभयो। अनि तिनले याहवेहको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहनुभएका देखे। यसकारण तिनी भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे। 32याहवेहको स्वर्गदूतले तिनलाई सोधे, “तैँले आफ्नो गधालाई किन यसरी तीन पल्ट हिर्काइस्? म तेरो विरोध गर्न आएको छु। किनकि तेरो चाल मेरो इच्छा विपरीत छ। 33यस गधाले मलाई देखेर यसरी तीन पटक बाटो तर्क्यो। यदि त्यो नतर्केको भए मैले तँलाई अहिलेसम्म निश्चय नै मारिसकेको हुनेथिएँ। अनि त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।” 34बालामले याहवेहको स्वर्गदूतलाई भने, “मैले पाप गरेको छु। मलाई रोक्न तपाईं बाटोमा उभिरहनुभएको मैले थाहै पाइनँ। अब यदि तपाईंको दृष्टिमा बेठीक छ भने म फर्केर जानेछु।” 35याहवेहका स्वर्गदूतले बालामलाई भने, “यी मानिसहरूसँग जा; तर मैले तँलाई भनेको कुरा मात्र भन्नू।” यसकारण बालाकका अधिकारीहरूसँग बालाम गए।
Copyright information for
NpiNCV